दफा ९८
अभियुक्त उपस्थित नभएकोमा मुद्दा मुलतवी राख्ने
(१) दफा ५७ बमोजिम पक्राउ पूर्जी जारी भएको अभियुक्त पक्राउ पूर्जी जारी भएको मितिले पैँतीस दिनभित्र पनि अदालतमा उपस्थित नभएमा वा निजलाई उपस्थित गराउन नसकिएमा अदालतले निजको हकमा मुद्दा मुलतवी राखी त्यस्तो मुद्दामा संलग्न अन्य अभियुक्तहरुको हकमा प्रमाण बुझी मुद्दाको किनारा गर्नु पर्नेछ ।
तर,
(क) अदालतमा बयान वा प्रतिउत्तर दिइसकेपछि अनुपस्थित रहेकोे अभियुक्त वा प्रतिवादीको हकमा मुद्दा मुलतवी राखिने छैन र वादी प्रतिवादीले पेश गरेको सवुद प्रमाण र अदालतले मनासिब सम्झेको अन्य प्रमाण बुझी मुद्दाको किनारा गर्नु पर्नेछ,
(ख) तीन वर्ष वा तीन वर्षभन्दा घटी कैदको सजाय हुने मुद्दामा अदालतमा हाजिर नभएको अभियुक्त वा प्रतिवादीहरुको हकमा समेत ठहरे बमोजिम फैसला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै मुद्दा मुलतवी रहने भएमा अदालतले मुद्दा मुलतबी रहेका प्रतिवादीहरुको हकमा मुद्दाको कारबाही स्थगन गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मुद्दा मुलतवी रहेकोमा मुद्दाको किनारा गर्नुभन्दा अगाडि अभियुक्त अदालतमा उपस्थित भएमा वा गराइएमा अदालतले मुलतवी जगाई उजुरवालालाई त्यस्तो कुराको सूचना दिई मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम मुद्दा मुलतवी रहेको मितिले तीन वर्षको अवधिभित्र अभियुक्त अदालतमा उपस्थित भएन वा गराइएन भने अदालतले त्यस्तो अभियुक्तको सम्बन्धमा मुलतवी रहेको मुद्दा जगाई कारबाही र किनारा गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम मुद्दा मुलतबी रहन सक्ने अवधिसम्म पनि अभियुक्त अदालतमा उपस्थित नभएमा दफा ५८ को उपदफा (१५) बमोजिम रोक्का भएको निजको हकको सम्पत्ति मुद्दा फैसला हुँदा निज कसूरदार ठहरेमा कानून बमोजिम लिलाम बिक्री गरी प्राप्त भएको रकममध्ये निजलाई फैसला बमोजिम लागेको दण्ड, जरिबाना, बिगो वा क्षतिपूर्ति बापतको रकम असूल उपर गरिनेछ र बाँकी रकम निजले फिर्ता माग गर्न आएको बखत फिर्ता दिनु पर्नेछ ।
(६) मुद्दाको किनारा हुनुभन्दा पहिले नै अभियुक्त अदालतमा उपस्थित भएको वा गराइएको र निजले आप्mनो विरुद्ध मुद्दा चलेको कुरा थाहै नपाएकोले उपस्थित हुन नसकेको भनी अदालतलाई विश्वास हुने कुनै प्रमाण पेश गरेमा अदालतले देहाय बमोजिमको खर्चहरु कटाई वा असुल गरी रोक्का रहेको सम्पत्ति निजलाई फुकुवा गर्ने आदेश दिनु पर्नेछः–
(क) सम्पत्ति बिक्री भई नसकेकोमा त्यस्तो सम्पत्ति रोक्का राख्दा लागेको खर्च,
(ख) अदालतमा उपस्थित हुन निजका नाममा वा मुद्दाको कारबाही सम्बन्धी कुनै विषयमा निजको हकमा सार्वजनिक सूचना प्रकाशन गर्दा लागेको खर्च ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटा अदालतमा दायर भएको मुद्दा मुलतवी रहेकोमा सोही अदालत वा अन्य कुनै अदालतमा दायर भएको अर्को कुनै मुद्दामा अभियुक्त वादी वा प्रतिवादीको हैसियतमा उपस्थित भएको भन्ने प्रतिवेदन वा जानकारी प्राप्त भएमा त्यस्तो मुद्दा मुलतवी रहेको मानिने छैन र अदालतले त्यस्तो मुद्दाको कारबाही अगाडि बढाउनको लागि त्यस्तो अभियुक्तलाई अदालतमा उपस्थित हुने आदेश दिन सक्नेछ ।
(८) उपदफा (७) बमोजिमको आदेश बमोजिम अभियुक्त उपस्थित नभए तापनि त्यस्तो मुद्दा जगाई कारबाही र किनारा गर्न सकिनेछ ।